चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तान्जानियासँग पराजित

हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई क्रिकेट सिरिजमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ।

जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएको हो।

नेपालका लागि सीता राना गरले ४३ र कप्तान इन्दु बर्माले १५ रनबाहेक अरूले दोहोरो अंकको रन नै जोड्न सकेनन्।

नेपालको सुरूआत नै खराब थियो। नेपालका ओपनर तथा शीर्ष क्रममा ब्याटर क्रिजमा टिक्न नसक्दा नेपालले ११६ रनको सामान्य लक्ष्य पनि भेटन् नसकेको हो।

ओपनर बिन्दु रावल खाता नै नखोली पेभेलिन फर्केपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न गएकी सम्झना खड्काले पनि खाता खोल्न सकिनन्।

अर्की ओपनर पूजा महतो टिमको स्कोर ११ रन हुँदा व्यक्तिगत ३ रनमा आउट भइन्।

चौथो नम्बरमा ब्याटिङमा गएकी काजल श्रेष्ठ र पाँचाैं नम्बरकी कप्तान बर्माले नेपाली इनिङ सम्हाल्ने कोसिस गरे पनि काजल ९ रनमा आउट भइन्।

त्यसपछि रूबिना क्षेत्री एक बल पनि फेस गर्न नपाउँदै रन आउट भइन्।

अनुभवी ब्याटर सीता रानामगरले बर्मासँग १७ रनको साझेदारी गरिन्। बर्मा व्यक्तिगत १५ रनमा आउट भइन्।

सीता नवौं विकेटका रूपमा टिमको स्कोर ८७ रन हुँदा क्याच आउट भइन्।

यसअघि पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।

तान्जानियाकी हुद्दा ओमरीले २५ तथा आइशा मोहमदले २१ रन बनाइन्।

बलिङतर्फ नेपालका संगीता राईले २ तथा कप्तान बर्मा, रूबिना क्षेत्री र पूजा महतोले समान १/१ विकेट लिए।

प्रतियोगितामा नेपालले भोलि बिहीबार हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *