बाँके प्रहरीले गोली हानेर समात्यो आरोपी

बाँकेमा प्रहरीले गोली चलाएर एक जना आरोपीलाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका-११ का ३० वर्षीय आकाश रानालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

उनी तिहारको टीकाको दिन कोहलपुरमा मीनबहादुर विकलाई खुकरी प्रहार गरेर गम्भीर घाइते बनाई फरार भएका थिए। उनको खोजतलासका क्रममा उनी जानकी गाउँपालिकामा लुकेर बसेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार खोजीका क्रममा जानकी गाउँपालिका-४ मा भेटिएका उनलाई नियन्त्रणमा लिन खोज्दा भागेपछि गोली चलाउनुपरेको हो। रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जनाइएको छ।

उनले तिहारको टीकाको दिन राति ३ बजेतिर कोहलपुरमा मीनबहादुर विकलाई खुकरी हानेर घाइते बनाएका थिए। मीनबहादुरको उपचार नेपालगञ्जमा हुन नसकेपछि भारतको लखनउ लगिएको छ।

उनी लागुऔषध मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए। उनीविरूद्ध गत कात्तिक २८ गते एक १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको उजुरीसमेत प्रहरीमा परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *