भ्वाइस अफ ग्लोबल साउथ समिटमा प्रधानमन्त्रीको सम्बोधन

‘विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको भ्वाइस अफ ग्लोबल साउथ समिटलाई सम्बोधन गरेका छन्।

उनले शुक्रबार साँझ समिटको ‘ग्लोबल साउथ : टुगेदर फर वान फ्युचर’ विषयक सत्रलाई भर्चुअल सम्बोधन गरेका हुन्।

समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए। यसका लागि विश्वासको निर्माण, साझेदारी तथा सहकार्य प्रवर्दधन र एकताका साथ काम गर्नुपर्ने उनको धारणा थियो।

उनले ग्लोबल साउथका धेरै देशहरू दिगो ऋणको बोझमा परेको र यसले स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महत्त्वपूर्ण राष्ट्रिय प्राथमिकताहरूमा लगानीका लागि दबाब परिरहेको बताए।

उनले नेपाल संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताए। यद्यपि, विद्यमान विश्वव्यापी शासन संरचनालाई सान्दर्भिक र आजको वास्तविकतालाई प्रतिबिम्बित गर्नका लागि समयसापेक्ष सुधार आवश्यक रहेकामा उनले जोड दिए।

यसका साथसाथै, एलडीसी, एलएलडीसी र एसआइडीएसलगायत विशेष परिस्थितिमा रहेका देशहरूको आवाजलाई पूर्ण रूपमा ध्यान दिएर अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

उनले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतराका रूपमा कायमै कायमै रहेको बताउँदै नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार वहन गरिरहेको बताए।

हिमालयमा जलवायु परिवर्तनको प्रभावले त्यस क्षेत्रमा बसोबास गर्ने लाखौं मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको उनको भनाइ छ।

उनले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ नेपालले प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपायहरू र हरियालीलाई प्रवर्द्धन गर्दै सन् २०४५ सम्ममा नेट-शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको जानकारी गराए।

उनले सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने र यो प्रक्रियालाई सहज, दिगो र अपरिवर्तनीय बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री दाहालले विकास साझेदारहरूबाट विकास सहायता, एफडीआई, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोगजस्ता अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरे।

उनले विकासोन्मुख देशहरूको उद्देश्यलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर