कात्तिक नाच सुरु, २७ दिन चल्ने नाच १० दिन मात्रै

ललितपुरको पाटन मंगलबजारको डबलीमा ऐतिहासिक कात्तिक नाच सुरु भएको छ । हरेक वर्ष मनाइने कात्तिक नाच यस वर्ष शनिबार साँझदेखि सुरु भएको हो ।

फरक–फरक देवीदेवताको नाच प्रदर्शन गरेर मनाइने कात्तिक नाच हेर्न उपत्यकासहित आसपासका जिल्लाबाट सर्वसाधारणको घुइँचो लाग्ने गर्छ । ११ मंसिरसम्म चल्ने नाचका क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ । नाचको पहिलो दिन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ । १३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको हो ।

त्यसो त कात्तिक नाचमा प्रदर्शन गरिने सबै नाटक सिद्धिनरसिंह मल्लकै पालामा सुरु भएका हुन् । तत्कालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ कात्तिक नाच चलाएको किंवदन्ती छ । यो नाच नेपाल संवत् ७६१ मा प्रारम्भ भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष प्रतापधर शर्माले जानकारी दिए । उनका अनुसार यो नाचको विशेषता भनेको हरेक दिन फरक–फरक कथामा आधारित भएर देखाउनु हो । कुनै समय यो नाच २७ दिनसम्म देखाइएको थियो । तर, पछिल्ला वर्षहरूमा आर्थिक अभाव र व्यवस्थापन नपुग्दा १० दिनमै खुम्चिएको छ । यो वर्ष १० दिन नाच देखाउन नौ लाख लाग्ने अनुमान छ । यदि नाचलाई २७ दिनसम्म देखाउने हो भने ६० लाख लाग्ने अध्यक्ष शर्माको भनाइ छ । उनका अनुसार कात्तिक नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सव पनि हो ।

सयौँ वर्ष पुराना नाचलाई सिलसिलाबद्ध रूपमा प्रस्तुत गरिने भएकाले कात्तिक नाचलाई विशेष पर्वका रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर