भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

आईसीसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ। आज सम्पन्न फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो।

आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।

यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो।

यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।

भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो।

यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहदै उत्कृष्ट लयमा रहेको भारत फाइनलमा भने अस्ट्रेलियासँग पराजित हुँदा स्तब्ध बन्यो। विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा ब्याटिङ नचल्नु दुर्भाग्य बन्यो।

अस्ट्रेलियाले यो विश्वकपमा सुरुवाती दुई खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि सात खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको थियो। सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिका र फाइनलमा भारतलाई पराजित गर्दै समूह चरणको हारको बदला समेत लिन सफल भयो।

अस्ट्रेलियाले एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतसँग अपराजित नजिता कामय राखेको छ। यसअघि अस्ट्रेलियाले सन् २००३ को फाइनलमा पनि भारतलाई पराजित गरेर उपाधि जितेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *