प्रहरीमा एसपी बढुवा : गृहमन्त्रीले पुरानै मापदण्ड मान्लान् कि अंगरक्षकको दबाबमा पर्लान् ?

नेपाल प्रहरीमा नायब उपरीक्षकबाट उपरीक्षक (डीएसपीबाट एसपी) बढुवाको तयारीसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अग्निपरीक्षासमेत सुरू भएको छ ।

प्रहरीमा बढुवाका लागि नियमावलीअनुसार कार्यदक्षता, कार्यसम्पादन, अघिल्लो बढुवा र भर्ना वरीयता, समूहको नेतृत्व, दुर्गमको अनुभव र जोखिमपूर्ण कार्यलगायतका मापदण्डहरू रहेका छन् । तर, गृहमन्त्री श्रेष्ठले एसपीबाट एसएसपी बढुवा गर्दा नियमावलीका दुई पक्षलाई मात्र साथ लिए । उनले बढुवा वरीयता र कार्यसम्पादनकै आधारमा बढुवा गरे । कार्यसम्पादनको अंकमा बढुवा समितिको समेत सहभागिता रहन्छ ।

उनले गरेको बढुवामा कार्यदक्षता र कार्यसम्पादनमा अब्बल रहे पनि अघिल्लो तहको बढुवामा पछि परेका केही राम्रा अघिकृतहरू छुटन् पुगे । हाल भने ती अधिकारीहरू रिक्त रहेको पद संख्याअनुसार वरीयताकै सूचीमा रहेका छन् । तर, उनीहरू पनि यसपटक छुट्ने हुन् कि भन्ने आशंका प्रहरी अधिकृतहरूमा रहेको छ ।

प्रहरी अधिकारीहरूका अनुसार हाल प्रहरी उपरीक्षक (एसपी) का सात पद रिक्त रहेका छन् । जसमा १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा प्रतिस्पर्धी रहेका छन् । वरीयताअनुसार प्रदीप क्षेत्री, अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार र निरञ्जनदत्त भट्ट पहिलो सातमा रहेका छन् ।

उनीहरूपछि राजन लिम्बू, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे (क) रहेका छन् ।

माथिल्लो सातमा रहेका जीसी कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा सफल अनुसन्धान गर्दागर्दै राजनीतिक कोपभाजनमा परेका प्रहरी अधिकारी हुन् । निडर र स्वच्छ छबीका उनले विवादरहित भएर महाराजगञ्ज वृत्तको कमाण्ड पूरा गरेका थिए । उनी संगठित र जघन्य अपराध अनुसन्धानमा पोख्त अधिकृतका रूपमा परिचित छन् ।

यस्तै अर्का अधिकृत श्यामबाबु ओलिया प्रहरीभित्र वित्तीय अपराध अनुसन्धानका लागि कहलिएका अधिकारी मानिन्छन् । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा डीएसपी ओलियाले आफैं अनुसन्धान अधिकृत भएर ठूला बैकिङ काण्डको सफल अनुसन्धान गरेका थिए । उनी इमानदार र चुपचाप काम गर्न रूचाउने प्रहरी अधिकृतका रूपमा संगठनभित्र परिचित छन् । कानुन कार्यान्वयनमा अब्बल मानिएका निरञ्जनदत्त भट्ट र विवादमा नआएका नारायण रञ्जितकार, ढकेन्द्र खतिवडा, यादव ढकाल र प्रदीप क्षेत्री यसपटकको बढुवामा अघिल्लो पंक्तिमा रहेका छन् ।

अब गृहमन्त्री श्रेष्ठले प्रहरी प्रधान कार्यालयको सिफारिसमा बढुवाका लागि माथिल्लो सूचीमा रहेका अधिकृत रोज्छन् कि कुनै समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक रहेका निकट प्रहरी अधिकारीलाई काखी च्याप्ने हुन्, त्यो हेर्न बाँकी छ ।

प्रक्रिया, पद्धति र नियममा विश्वास राख्ने र त्यसको वकालत गरिरहेका गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डका अंगरक्षक रहिसकेका डीएसपी घिमिरे (क), एमाले अध्यक्ष ओली निकट रहेका डीएसपीद्वय तामाङ र लिम्बू अनि चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल निकट रहेका कोइरालाको व्यापक दबाबको सामना कसरी गर्ने छन्, त्यो नै उनको अग्निपरीक्षा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर