‘डोजरे विकास’ ले मौलिक सम्पदाको विनाश

पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् ।

बिना इञ्जिनियरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रूपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरवास उजाडिदिएको छ । बागलुङका थुप्रै गाउँ पहिरोको उच्च जोखिममा छन् । बर्खा लाग्नासाथ उनीहरू घर छोडेर टाढा जानुपर्ने अवस्था छ ।

ग्रामीण सडकले बस्ती त जोखिममा पार्‍याे नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, भञ्ज्याङ र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर ती सम्पदा हिजोआज देख्न पाइँदैन । विकासका नाममा भएको ‘डोजरे विकास’ ले सबै सम्पदा नष्ट गरिदिएको छ । भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व नै समाप्त भएको छ । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोट्याइदियो तर मौलिक सम्पदाको पहिचान भने मेटाइदियो । बागलुङको सबैभन्दा दुर्गम मानिने तमानखोला, ढोरपाटन र निसीखोलाबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा वरपीपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिन्थे, सडक निर्माण क्रममा ती सबै पुरिए ।

गाउँ-गाउँबाट एकै दिनमा सदरमुकाम आउन नसकिने र अहिलेको जस्तो ठाउँ-ठाउँमा बास बस्ने होटल हुँदा आफूहरू धर्मशालामा बास बस्ने गरेको ढोरपाटनका ८७ वर्षीय मकरबहादुर पुनले बताए । पहिले हप्ता दिन हिँडेर बागलुङ बजार आइपुग्ने जनाउँदै अहिले चार घण्टामै आउन सकिने भएको उनको भनाइ छ । गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै आउनु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेको उनले बताए । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएको उनको गुनासो छ ।

मौलिक सम्पदा पहिचान भएको भन्दै पछिल्लो समय त्यो पहिचान संकटमा पर्दै गएको पुनको भनाइ छ । ‘गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीहरूले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ, तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा वरपीपल रोप्ने, चौतारी बनाउने, धर्मशाला, पाटीपौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन,’ उनले भने ‘नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँकतै भेटिदैनन्, उतिबेला हामीहरूले बनाएका चौतारी, बास बस्ने पौवा, टाढा जानुपर्दा अहिलेको जस्तो गाडी हुँदैनथे, हिँडेरै पुग्नुपर्थ्यो, बास बस्नका लागि होटल हुँदैनथ्ये, त्यही पाटीपौवामा बस्नुपर्थ्यो, अहिले त होटल बने, विकास भए पनि मौलिक सम्पदाको संरक्षण गर्नुपर्थ्यो ।’

स्थानीय वीरबहादुर बुढामगरले बाउबाजेले वरपीपल रोपेर चौतारी बनाउँदा पुण्य कमाइने मान्यता राखेको र आफूहरूले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए । गाउँका हरेक पाका-पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोच नै नभएको उनको भनाइ छ । तीन वर्ष अगाडिसम्म आफ्नो गाउँका विभिन्न ठाउँमा ११ वटा चौतारी र चारवटा सार्वजनिक ढुङ्गेधारा रहेकामा अहिले सबै सडकले पुरिदिएको उनले बताए । सडक निर्माण गर्दा आफूले संरक्षण गर्न भने पनि कसैले नसुनेको बुढामगरले गुनासो गरे ।

उनले भने, ‘अहिलेका पुस्तालाई विकास चाहिएको छ, घर-घरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो, वरपीपल लगाउनु त राम्रो कुरा हो नि, पाटीपौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरूले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्‍याैँ, ढुङ्गेधारो बनायौँ, अहिले त सबै भत्काइदिए ।’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले पूर्वाधार निर्माण गर्दा मौलाक सम्पदालाई संरक्षण हुने गरी काम गरिरहेको बताए ।

अहिले पनि तमान खोलाका ठाउँ-ठाउँमा वर्षौँ पुराना मौलिक सम्पदा रहेको भन्दै गाउँपालिकाले पनि तिनीहरूको संरक्षणमा जोड दिएको अध्यक्ष बुढामगरले बताए । आधुनिकतालाई अँगाल्नुका साथै मौलिक सम्पदाको प्रवर्द्धन र संरक्षण आवश्यक रहेको उनको भनाइ छ । गाउँपालिकाले पुराना मौलिक सम्पदाको पुनर्निर्माणमा समेत ध्यान दिएको बुढामगरले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर