‘अज्ञात उडान वस्तु’ देखिएको भन्दै भारतको इम्फाल एयरपोर्ट बन्द, खोजी गर्न वायुसेनाको विमान पठाइयो

भारतको इम्फालमा अज्ञात उडान वस्तु (यूएफओ) देखिएको खबरपछि वायुसेनाले यसलाई पत्ता लगाउन दुई राफेल लडाकु विमानहरू पठाएको घटना बाहिरिएको छ। यसबाहेक भारतको वायु रक्षा प्रणाली पनि तुरून्तै सक्रिय गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यद्यपि, वायुसेनाले अहिलेसम्मको अनुसन्धानमा केही फेला पारेको छैन।

समाचार एजेन्सी एएनआईले रक्षा स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘विमानस्थलबाट सूचना पाएपछि वायुसेनाको पूर्वी कमाण्डले एक-एक गरी दुईवटा राफेल पठायो तर हामीले आकाशमा कतै पनि कुनै वस्तु देखेनौं।’ राफेल लडाकु विमान पश्चिम बंगालको हाशिमारा एयरबेसमा तैनाथ गरिएको छ। यसले चीनको सीमा नजिकै रहेका धेरै वायुसेना अड्डाहरूबाट उडान भर्छ।

वायुसेनाले नोभेम्बर १९ मा वायु रक्षा प्रणाली सक्रिय भएको पुष्टि गरेको थियो। यूएफओको भिडियो पनि रहेको दाबी गरिएको थियो। सम्बन्धित एजेन्सीहरूले यसलाई पत्ता लगाउने कोसिस गरिरहेका छन्।

पूर्ण छानबिनपछि मात्र इम्फाल एयरपोर्टलाई उडान सञ्चालनका लागि अनुमति दिइएको थियो।

एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले १९ नोभेम्बर दिउँसो २:३० बजे इम्फाल एयरपोर्टमा यूएफओ देखेको दाबी गरेको थियो। त्यसपछि एयर इन्डियाका दुई र इन्डिगोको एउटा उडानलाई अवतरण गर्न अस्वीकार गरिएको थियो। उही समयमा इम्फाल आउँदै गरेका दुई उडानहरू कोलकाता डाइभर्ट गरिएको थियो।

एटीसी रिपोर्टले पनि इम्फाल एयरस्पेस र उडान सञ्चालन तुरून्तै बन्द गरिएको बताएको छ। जसका कारण करिब एक हजार यात्रु प्रभावित भएका छन्। भारतीय एयरपोर्ट अथोरिटी (एएआई) ले इम्फाल एयरस्पेसको नियन्त्रण वायुसेनालाई हस्तान्तरण गरेको छ। वायुसेनाबाट अनुमति पाएपछि मात्र इम्फालमा व्यावसायिक उडान सञ्चालन सुरू गरिएको थियो।

एयर इन्डियाको फ्लाइटमा दिल्ली जाँदै गरेकी एक महिला यात्रुले भनिन्, ‘प्लेनमा चढ्ने काम दिउँसो ३ बजे सकिएको थियो तर साँझ ६ बजेर १० मिनेटमा टेकअफको क्लियरेन्स दिइएको थियो । यसले यात्रुहरू डराएका थिए।’ नाम नबताउने शर्तमा विमानस्थलका एक अधिकारीले करिब एक घण्टासम्म आकाशमा ठूलो वस्तु उडेको देखिएको बताए।

-दैनिक भाष्करबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *