रसुवागढी नाकाबाट सुनसहित तीन जना पक्राउ, प्रहरीले थाल्यो विशेष निगरानी

रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाई सुन ल्याउन थालेपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरूवा औंठी लगाई सुन आयात गर्न लागेको अवस्थामा सोमबार साँझ उत्तरी रसुवाका तीन जना पक्राउ परेका छन् । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेकोे हो ।

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरूङ आवतजावत गर्न पाउँछन् । केरूङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

केरूङ आवतजावतका लागि पास पाएका स्थानीयले अवैध रूपमा कुनै पनि सामग्री ल्याउन पाउँदैनन् । राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले २५ ग्राम मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ ।

केरूङबाट सुनको औंठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका-१ हाकु निवासी सिनेवाङ्दी तामाङ, आमाछोदिङ्मा-४ गोल्जुङकी लक्ष्मी तामाङ एवं आमाछोदिङ्मा-५ चिलिमेकी ल्हाक्पावुटी तामाङ पक्राउ परेका हुन् । उनीहरूको साथबाट १४ लाख ९१ हजार छ सय २८ रूपैयाँ बराबरको १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरूवा सुनका औंठी जफत गरिएको थियो ।

उनीहरूलाई रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *