उपसचिव ढुंगानालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेषको फैसलाविरूद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

साढे ४ करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेषमा दर्ता मुद्दामा सफाइको फैसलाविरूद्ध अख्तियार सोमबार सर्वोच्च गएको हो ।

२०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका ढुंगानाले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रूपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

जागिर अवधिमा उनको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रूपैयाँ ८ पैैसा हुनेमा उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रूपैयाँ ५३ पैसा देखिएको निष्कर्षसहित अख्तियारले उनीविरूद्ध २०७६ पुस १८ गते मुद्दा दर्ता गरेको थियो ।

ढुंगानाले अवैध आर्जनबाट श्रीमती मधु कोइराला ढुंगानाको नाममा सम्पत्ति रोखेको देखिएको भन्दै श्रीमतीविरूद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रूपैयाँ ४५ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३ तथा दफा २९ (२), भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) बमोजिम जरिवाना र कैद मागदाबी गरेको थियो । त्यस्तै गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरिएको थियो ।

विशेष अदालतले उपसचिव ढुंगानालाई २०८० वैशाख ८ मा सफाइ दिएको थियो। न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले उनलाईसफाइ दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *