अब केपी ओलीले झापा र महेश बस्नेतले भक्तपुर जाँदा मेरो अनुमति लिनुपर्छ : दुर्गा प्रसाईं

'म कि जेल जान्छु कि मर्छु भनेर काठमाडौं आएको हुँ'

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा र नेता महेश बस्नेतले भक्तपुर जाँदा आफ्नो अनुमति लिनुपर्ने चेतावनी दिएका छन् ।

बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गरी उनले कम्युनिष्टको जिल्लामा न्याय माग्न आउँदा महिलामाथि ओलीको पार्टीले हातपात गरेको भन्दै प्रश्न गरे, ‘हजुरबुवा, कसरी मुख देखाउनुहुन्छ ? झापा कसरी जानुहुन्छ ?’

उनले भने, ‘ओलीको कम्युनिष्ट सिद्धान्त गयो । अब कसरी जानुहुन्छ हजुरबुवा गाउँमा ? झापामा मुख देखाउन सक्छन् ? मलाई नसोधी नजाँदा हुन्छ केपी ओलीले । मसँग अब महेश बस्नेतले भक्तपुर प्रवेश गर्न पनि मसँग अनुमति लिनुपर्छ । मजाक गरेको होइन, जे बोल्छु त्यो गर्छु ।’

उनले महिला बसेको ठाउँमा हातपात गर्न खोज्ने युवा संघका कार्यकर्तालाई कारबाही माग गर्दै महिलावादी के हेरेर बसेका छन् भन्दै प्रश्न गरे ।

उनले भने, ‘महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन ? मानव अधिकारवादी के हेरेर बसेका छन् ? महिलावादी के हेरेर बसेका छन् ? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् ?’

उनले काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा एमाले सक्किँदै गएको दाबी गरे ।

प्रसाईंले आफ्नो लडाइँलाई जीवनमरणको संघर्षका रूपमा चित्रित गरे ।

उनले भने, ‘यो लडाइँ जित्यौं, हामी बाँच्यौं, यो लडाइँ हार्यौं, हामी मर्‍याैं । म कि जेल जान्छु, कि मर्छु भनेर काठमाडौं आएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *