वर्तमान अवस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन कानुनबमोजिम बल प्रयोग गर्नू : आईजीपी

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वर्तमान अवस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानुनबमोजिम बल प्रयोगको सिद्धान्त अवलम्बन गर्न सुरक्षा व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

महानिरीक्षक कुँवरले भोलि (बिहीबार) हुने व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) को भातृ संगठन युवा संघको प्रदर्शनलाई संकेत गर्दै सो निर्देशन दिएका हुन्।

नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका ५ जना प्रहरी अधिकृतहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न लगाइदिँदै उनले उक्त निर्देशन दिएका हुन्।

महानिरीक्षक कुँवरले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए।

आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा उनले जोड दिए।

महानिरीक्षक कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए।

समारोहमा महानिरीक्षक कुँवरले प्रहरी वरिष्ठ उपरीक्षकहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई दर्ज्यानी चिह्न लगाइदिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर