उस्तै छ १३ सय वर्ष पुरानो धादिङको गंगाजमुना जात्राको रौनक

धार्मिक तथा पर्यटकीय रूपले परिचित स्थल हो, धादिङको गंगाजमुना झरना । यो झरनामा वर्षाैदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । यो झरना हिउँदमा खासै देखिँदैन । तर, देशका थुप्रै जिल्लाहरूबाट यो मेला हेर्न र गंगाजमुना माइको दर्शन गर्न आउने गर्दछन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन मनाइन्छ । गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । यो वर्ष हिजो बुधबारदेखि बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यहीँ स्नान गरी पूजाआजा गरेका छन् ।

१३ सय वर्षअगाडि गंगा र जमुना नाम गरेका दुई छोरीहरू बेपत्ता भएको र परिवार खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं, हामीलाई यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माइको मेला सुरू भएको किम्बदन्ती छ ।

गंगाजमुना गाउँपालिका-५, ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छ । तीन सय मिटरमाथिबाट झर्ने यो झरनामा गएर नुहाउने र मनले चिताएको पुरा होस् भनेर आशीर्वाद माग्ने प्रचलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गर्ने प्रचलन पनि रहेको छ ।

एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरि डोली तार्ने बत्ती सेलाउने र पहरामा रहेको भगवान् गंगाजमुनाको दर्शन गरी फर्किने चलन छ । गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनहरूले गंगाजमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुख-शान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताए ।

गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरूको पनि भीड हुने गर्दछ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ ।

यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । स्थानीय सिंहबहादुर तामाङ भन्छन्, ‘एकादशीको दिन रात नै झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेहरूले रातभर आ-आफ्नो भेषभूषा र पहिरनअनुसारको कला देखाउँछन् र बिहान भए पनि झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन् ।’

यो जात्रा धादिङको गंगाजमुना गाउँपालिकास्थित फूलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदाएको दृश्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन कन्सर्टको आयोजना गर्दै आएको छ । लंगरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो ।

हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण र आकर्षक भए पनि त्यस ठाँउसम्म पुग्नका लागि सडक सञ्जालको कठिनाइ छ । भौगोलिक हिसाबले विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर