नक्कली सर्टिफिकेट पेस गरी शिक्षक र अहेवको जागिर खाएको आरोपमा दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक र असिस्टेन्ट हेल्थ वर्कर (अहेव) को जागिर खाएको आरोपमा बिहीबार दुई जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

रूपन्देहीको गैडहवा गाउँपालिका-४ स्थित मुक्तिधाम आधारभूत विद्यालयमा प्रावि राहत शिक्षक रहेकी डिलमायाकुमारी कँडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको फेला परेको अख्तियारको दाबी छ।

नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्त भएकाले आवश्यक कारबाही गरिपाऊँ भन्दै उनीविरूद्ध अख्तियारमा उजुरी परेको थियो।

यसबारे छानबिन गर्दा उनले प्रावि राहत कोटाको शिक्षक दरबन्दीमा नियुक्तिका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाइस्कुल परीक्षा तहको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारको ठहर छ।

यस्तै गुल्मीको मालिका गाउँपालिका-५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेव देवबहादुर महताराको पनि शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको अख्तियारले जनाएको छ।

उनले भारतबाट एसएलसीको प्रमाणपत्र किनेर ल्याएकाले उनको शैक्षिक प्रमाणपत्र छानबिन गरिपाऊँ भनेर परेको उजुरीमा छानबिन गर्दा प्रमाणपत्र नक्कली फेला परेको हो।

अख्तियारका अनुसार उनले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अहेव पदको विज्ञापनअन्तर्गतको परीक्षा दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एसएलसी तहको झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप छ।

यसरी एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर उनले लोकसेवा आयोगबाट छनोट भई छापहिले स्वास्थ्य चौकीमा अहेवको रूपमा काम गरेर भ्रष्टाचार गरेको देखिएको अख्तियारको दाबी छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *