सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाविरूद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समितिमा शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफा्रिस भएका  ६ जनाका सम्बन्धमा उजुरी माग गर्नेबारेमा छलफल भएको छ ।

समितिको बैठकमा न्यायाधीश पदमा नियुक्ति सिफारिस भएका शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्तामा नियुक्ति सिफारिस भएका सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालका विषयमा छलफल भएको हो ।

सुनुवाइ समितिको बैठकले न्यायाधीशमा प्रस्तावित व्यक्तिका नियुक्तिको सम्बन्धमा उजुरी माग गर्नेसम्बन्धी सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिएको छ ।

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ तथा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १३ बमोजिम उक्त निर्देशन दिएका हुन् ।

उनले भने, ‘प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिको लागि सिफारिस व्यक्तिहरूको नियुक्तिको अनुपयुक्तता सम्बन्धमा उजुरी माग गर्नेसम्बन्धी सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’

प्रस्तावित व्यक्तिहरूको बारेमा सर्वसाधारणलाई जानकारी दिन र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यमहरूमार्फत सूचना दिन उनले निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर