शरणार्थी प्रकरण : आज उच्च अदालतबाट आदेश आउँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि बिहीबार उच्च अदालत पाटनले आदेश दिँदै छ। जवाफी बहस सुनेपछि सम्भवतः बिहीबार नै आदेश आउने सम्भावना रहेको उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ ।

पुनरावेदनका रोहमा काठमाडौं जिल्ला अदालतको आदेश बदरको माग गर्दै विभिन्न मितिमा गरी पाटनमा २१ वटा निवेदन विचाराधीन छन् । जसमाथि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनुवाइ हुँदै छ । यस इजलासले ५ मंसिरदेखि नै यो निवेदनलाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिरहेको छ ।

निवेदकको बहस सकिएपछि सरकारी वकिलले मंगलबार र बुधबार गरी दुई दिन बहस गरेका हुन् । बिहीबार निवेदक पक्षले जवाफी बहस सकाएमा आदेश आउन सक्ने सम्भावना रहेको एक सरकारी वकिलले बताए । २३ कात्तिकमा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासले मुद्दाको पेसी मिति ५ मंसिरका लागि तोकेको थियो ।

यस प्रकरणमा नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए।

उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।

बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस सकेमा आज नै अदालतले प्रतिवादीहरुलाई रिहा गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्णय सुनाउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर