अपराधसम्बन्धी एकीकृत तथ्यांक प्रणाली बनाउँदै नेपाल प्रहरी

अब नेपालमा अपराधसम्बन्धी एकीकृत राष्ट्रिय अभिलेख (डाटाबेस) बन्ने भएको छ ।

सरकारले यससम्बन्धी निर्देशिका राजपत्रमा प्रकाशन गरेकोले नेपाल प्रहरीले त्यस्तो डाटाबेसको तयारी थालेको छ । अपराध अनुसन्धान, न्यायसम्पादन र राज्यको अन्य सेवा प्रवाहमा यस्तो एकीकृत डाटा नहुँदा अनेक समस्या र विकृति रहेको छ ।

फौजदारी अपराधमा दण्डित मानिसहरूले पनि अनेक सुविधा अन्य असल नागरिकसरह उपयोग गर्न पाएका विभिन्न तथ्य बेलाबेलामा आलोचनाको विषय बन्ने गरेको छ ।

नेपाल प्रहरीले तयार गर्ने यो अपराध सम्बन्धी एकीकृत डाटाबेसमा चार प्रकारका तथ्यांकहरू रहने छन् । पहिलो विवरण नेपाल प्रहरी वा प्रदेश प्रहरीको अपराध अनुसन्धान गर्ने कार्यालय वा एकाइ तथा अन्य निकायबाट अनुसन्धान भएर फौजदारी मुद्दामा अभियोजन भएका व्यक्तिहरूको विवरण रहनेछ ।

दोस्रो विवरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूको विवरण रहनेछ । तेस्रो विवरणको सूचीमा, फौजदारी मुद्दामा अदालत वा अन्य कुनै अर्धन्यायिक निकायबाट सजाय पाएका व्यक्तिहरूको तथ्यांक रहनेछ ।

यसैगरी फौजदारी मुद्दामा अदालत वा कुनै अर्धन्यायिक निकायबाट सफाइ पाएको व्यक्तिको विवरणको सूची पनि रहनेछ ।

यस्ता विवरणहरूमा सम्बन्धित व्यक्तिको पुरा नाम, थर, ठेगाना, नागरिकता नम्बर वा राष्ट्रिय परिचय पत्रको नम्बर, निजको बाबुको नाम, बाजेको नाम, सम्पर्क टेलिफोन नम्बरसहित अपराध जन्य मुद्दाको विवरण पनि रहने निर्देशिकाका उल्लेख गरिएको छ ।

प्रहरीले यस्तो विवरणहरू आफ्नो निकाय बाहेक अन्य निकायबाट पनि संकलन गरी अद्यावधिक गर्न सक्ने अधिकार पाएको छ ।

प्रहरीले विवरण संकलन गर्न सक्ने निकायका रुपमा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयहरू र डिभिजन वन कार्यालयहरूसमेतलाई निर्देशिकामा उल्लेख गरिएको छ ।

यस्तै प्रहरीले फौजदारी मुद्दामा अनुसन्धान र अभियोजन गर्ने अधिकार पाएका अन्य निकायबाटसमेत डाटा लिन सक्ने भएको छ । यसरी संकलित तथ्यांक र विवरणको सुरक्षा र गोपनीयताको प्रबन्ध गर्ने दायित्व पनि सरकारले प्रहरीलाई नै दिएको छ ।

यो अपराधजन्य संवेदनशील तथ्यांकको एकीकृत डाटाको प्रबन्ध गर्न नेपाल प्रहरीले प्रविधिका कुन कुन साधन कसरी प्रयोग गर्दै छ भन्ने विषय भने निकै संवेदनशील रहेको छ ।

स्रोत : आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर