रथी बढुवा प्रक्रिया सुरू भएसँगै अतिरञ्जित प्रचारबाजी भयो : प्रधानसेनापति 

प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया सुरू भएसँगै अतिरञ्जित तवरले प्रचारबाजी भएको बताएका छन् ।
सम्भावित उम्मेद्वारहरूको उमेर, शैक्षिक योग्यता आदिलाई विषयवस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको उनको भनाइ छ ।
गण तथा गुल्महरूको कमाण्ड गरिरहेका एवं निकट भविष्यमा कमाण्डमा नियुक्त हुन लागेका अधिकृतहरूका लागि सञ्चालित ‘कमाण्डिङ अधिकृत अभिमुखीकरण कार्यक्रम’ का सहभागीहरूलाई मंगलबार जंगी अड्डामा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।
उनले शैक्षिक प्रमाणपत्र, नागरिकताजस्ता कागजातहरू आवश्यकताअनुसार सम्बद्ध निकायहरूबाट यकिन गरेर मात्र जंगी अड्डाले कारबाही अघि बढाउने गरेको उल्लेख गरे ।
प्रधानसेनापतिले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीहरूको कागजात शंकास्पद देखिएकाले कारबाही गर्न सिफारिस गरेको पनि बताए ।
प्रधानसेनापतिले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रूपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने बताए ।
स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भए तापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न उनले सकलदर्जालाई सुझाव दिए ।
नेपाली सेनामा सरूवा, बढुवालगायत वृत्ति विकाससम्बन्धी कार्यहरूका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरू रहेको र यसबारे सकलदर्जालाई जानकारी हुँदाहुँदै संस्थाबाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सम्बद्ध सबैलाई सचेत गराए ।
नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरूबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिबद्ध रहेको प्रधानसेनापतिको भनाइ थियो । उनले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त्य गर्न आफू प्रतिकद्ध रहेको बताए ।
पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरूको दुरूपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित सञ्चालन प्रक्रियालगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेको तर्फ सकलदर्जालाई सचेत रहन उनले निर्देशन दिए ।
प्रधानसेनापतिले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको र विधि, पद्धति तथा प्रक्रियाविपरीत कसैसँग कुनै सम्झौता नगर्ने बताए ।
उनले भने, ‘असंख्य सिपाहीहरूको रगत-पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थ सिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुष्प्रयासले नेपाली सेना कमजोर हुने छैन ।’
प्रधानसेनापतिले आफ्नो र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुष्प्रचार पूर्णतः गलत रहेको बताए ।
प्रधानसेनापतिले नेपाली सेनाको कुनै पनि तहको कमाण्ड भन्नु जागिर वा अधिकारको कुरा नभई सेवा भावका साथ अत्यन्त संवेदनशील भई निर्वाह गर्नुपर्ने उत्कृष्ट जिम्मेवारी भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर