चोरी गरी अमेरिका पुर्‍याइएका पूरातात्त्विक मूर्ति नेपाललाई फिर्ता

विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका चारवटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।

अमेरिकाको म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग, जुनियरले आज एक विशेष समारोहबीच चार पुरातात्त्विक वस्तुहरू हस्तान्तरण गरेको बताए ।

नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र युएस होमल्यान्ड सेक्युरिटी इन्भेष्टिगेशन (एचएसआई) का डेपुटी स्पेशल एजेन्ट क्रिस्टोफर लाउसहितको उपस्थितिमा ती पुरातात्त्विक वस्तुहरू फिर्ता गरिएको हो ।

न्युयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएकोमा दुई वटा भैरव मास्क रहेका छन् साथै शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका छन् । ती मूर्तिहरू १६ औँ र १७ औँ शताब्दीका छन् ।

कार्यवाहक महावाणिज्यदूत गौतमका अनुसार- ‘गैरकानुनी रूपमा निकासी गरिएका यी चार मूर्तिहरू फिर्ता हुनु भनेको नेपालको सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण कदम हो । यस कार्यले सांस्कृतिक सम्पदाको पुन:प्राप्ति र पुनर्स्थापनामा ठुलो योगदान पुर्‍याएको छ ।’

त्यस्तै जिल्ला न्यायाधिवक्ता ब्रागले आफूहरू पुरातात्त्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुहरूको खोजीका लागि सधैँ सहयोग गर्ने पनि बताउनुभयो ।

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याइएका नेपालका पुरातात्त्विक वस्तुहरू फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ता कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।

प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने महावाणिज्य दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर