आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी एमाले अघि बढेको छ : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन् । पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत आज पोखरा महानगरपालिका-२७, तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे ।

अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन-८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए । उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै संघर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

‘देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, संगठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ, राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सवालमा पनि एमालेले नेतृत्व गर्छ,’ उनले भने, ‘पार्टी पंक्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि संकल्प यात्राको आयोजना गरिएको हो ।’

अध्यक्ष ओलीले खस्कँदो अर्थतन्त्र, बेरोजगारी जस्ता कारणले युवा जनशक्ति पलायन हुने क्रम तीव्र बनेको धारणा राखे । ‘देश निर्माणका लागि युवा जनशक्तिलाई देशभित्रै राख्नुपर्छ, हाम्रो देश हामी आफैँले बनाउने हो, अरूले कसैले बनाइदिएर देश बन्दैन,’ अध्यक्ष ओलीले भने, ‘देशमै रोजगारीको सिर्जना र उद्यमशीलता विकास गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *