अर्थतन्त्र सुधारका लागि गम्भीर छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको सुधारका निम्ति आफू गम्भीर रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले आगामी केही महिनाभित्रमा देशको अर्थतन्त्रलाई लयमा फर्काउन सकेमा त्यो आफ्ना लागि गौरवको विषय हुने बताए ।

प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेको सुरूको अवस्थामा निराशाजनक रहेको अर्थतन्त्रमा अहिले केही सुधारका सङ्केत देखिन थालेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘अर्थतन्त्र अझै दबाबमा रहे पनि अहिले रेमिट्यान्स बढेको, धेरै पर्यटक नेपाल भित्रिएको, गत महिनादेखि राजस्व बढेको र विदेशी मुद्राको सञ्चिति १७ महिनालाई पुग्ने गरी बढेको छ ।’ सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अभियान सुरु गर्न जमर्को गरिएको उनले उल्लेख गरे ।

‘एकथरी मान्छेले निराशा बाँडेर प्रचार गरेका छन्, ७० वर्ष लडेर प्राप्त परिवर्तनलाई उल्ट्याउने प्रयास गरेका छन्,’ उनले भने, ‘आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिइने छैन ।’

प्रधानमन्त्री दाहालले एनसेलको खरिदबिक्रीका सन्दर्भमा सरकारले छानबिन समिति गठन गरेको बताए । राजनीति पनि मोटामोटी लयमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान र व्यवस्थाविरूद्ध गतिविधि गर्ने अराजकतावादीका विरूद्ध दल एकठाउँमा उभिएको बताए ।

सुदूरपश्चिमको समग्र विकासका लागि आफू दत्तचित्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उद्योग शिक्षा स्वास्थ्यको विकासको सवालमा आफूले प्राथमिकता दिएको बताए । गेटामेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वाविद्यालय बनाउने विधेयक छलफलमा रहेकाले यो विधेयक चाँडै पारित हुने बताउँदै उनले यो विषयमा कुनै अन्योल नराख्न आग्रह गरे ।

धनगढीको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले उरैभञ्ज्या नाका, दोधारा चाँदनी सुक्खा बन्दरागाह, पञ्चेश्वर जलविद्युत् परियोजनाको कामअघि बढिरहेको बताए । उनले खप्तड क्षेत्रको विकास, परशुराम धाम, महाकाली नदीमाथि मोटरेबल पुल निर्माण जस्ता कामअघि बढाउन लागिएको बताए । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारका साथै उद्योगी व्यवसायीले राखेका समस्या समाधानमा सङ्घीय सरकारले चासो देखाउन ध्यानाकर्षण गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्नेमा जोड दिँदै राष्ट्र बैंकले आजै ल्याएको मौद्रिक नीतिले केही हदसम्म समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनसँगै आफ्नो पहलमा पाँच अर्ब रूपैयाँ लागानीको केवलकार योजना कैलालीको चिसापानीमा कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर