पक्राउ पुर्जी जारी भएका प्रकाण्डले भेटे प्रधानमन्त्री, निकास निकाल्ने आश्वासन

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूको पक्राउ पुर्जीबारे निकास निकाल्ने तयारी गरेको छ। सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामालगायत नेतालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि शनिवार साँझ उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। उनले शनिवार साँझ बालुवाटार नै प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

भेटमा अदालतबाट जारी पक्राउ पुर्जी, यसअघिको सरकारसँग भएका सहमतिलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तत्कालीन सरकारसँग विप्लव नेतृत्वको नेकपाले तीनबुँदे सहमति गरेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आएपछि पक्राउ पुर्जी जारी गर्न नमिल्ने तर्क गरे । “विप्लव नेतृत्वको नेकपाका नेतालाई अहिले लगाएको मुद्दा होइन। अदालतमा पुरानो मुद्दा विचाराधीन अवस्थामा रहेछ । तीनबुँदे सहमति भएपछि पक्राउ पुर्जी जारी गर्नुहुन्नथ्योे,” उनले भने, “प्रधानमन्त्रीसमेत विप्लव नेतृत्वको नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नुहुँदैन भन्नेमा हुनुहुन्छ । पक्राउ पुर्जी जारी गरेपछि उहाँ आश्चर्य चकित हुनुभयो ।”

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । त्यसको दुई वर्षपछि ओली नेतृत्वको सरकारले २०७७ साल माघ २१ गते तीनबुँदे सहमति गरेर शान्तिपूर्ण मूलधारको राजनीतिमा ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर