झम्सिखेलमा लागुऔषध कारोबारीले प्रहरीलाई नै पिस्ताेल ताकेपछि जवाफी फायर गरेको थियो प्रहरीले

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई मंगलबार ललितपुर महानगरपालिका-३, झम्सिखेलमा लागुऔषधको कारोबार भइरहेको सूचना प्राप्त भयो।

सूचनापछि लागुऔषध कारोबारीलाई पक्राउ गर्न कार्यालयबाट प्रहरी टोली झम्सिखेल पुग्यो। तर, लागुऔषध कारोबारीले पिस्तोल निकालेर उल्टै प्रहरीलाई ताके। यसपछि प्रहरीले उनीमाथि गोली चलायो।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार लागुऔषध कारोबारीले प्रहरीलाई लक्षित गरेर फायर गर्न लागेपछि जवाफी कारबाहीस्वरूप प्रहरीले गोली चलाएको हो।

गोली चलाएर प्रहरीले उदयपुरको लेखानी गाउँपालिका-९ घर ४० वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको हो।

दाहिने गोडामा गोली लागेका उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीले उनको साथबाट १ थान कटुवा पिस्तोल, त्यसको गोली २ राउण्ड, लागऔषध एम्फेटामाइन (एटीएस) ४८५ ग्राम, भिभो मोबाइल १ थान, नगद नेपाली रूपैयाँ ६० हजार र भारतीय रूपैयाँ ११ हजार बरामद गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *