छानबिन समितिले माग्याे दूरसञ्चार प्राधिकरण लगायत निकायसँग एनसेलसम्बन्धी सम्पूर्ण विवरण

एनसेलको सेयर खरिद–बिक्री प्रकरणकाे अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिले एनसेनसँग सरोकार राख्ने विभिन्न नियामक निकायहरूसँग दर्ता प्रक्रियादेखि हालसम्मका सम्पूर्ण कागजात र विवरण मागेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टारको कार्यालय, सञ्चार मन्त्रालय, उद्योग विभाग, उद्योग मन्त्रालयसँग पनि समितिले छलफल गर्नुका साथै यी निकायहरूबाट विवरण माग समेत गरेको छ। नेपाल राष्ट्र बैङ्क, आन्तरिक राजस्व विभाग, करदाता कार्यालयसँग पनि आवश्यक विवरण मगाइएको छानबिन समितिका एक सदस्यले बताए।

समितिले अनुसन्धानको पहिलो चरणमा ती निकायबाट प्राप्त भएका विवरण अध्ययन विश्लेषणको काम गर्दै छ । समिति सदस्यले भने–‘नेपाल दूरसञ्चार प्राधिकरणसँग एनसेललाई सुरुमा अनुमति दिँदा देखिको पछिल्लो शेयर खरिद बिक्रीको अवस्थासम्मको सबै कागजात विवरणहरू मागेका छौँ। अहिले शेयर खरिदबिक्री गर्नु पूर्व अनुमति लिएको थियो कि थिएन ? पूर्व स्वीकृति लिएको थियो कि थिएन ? जानकारी लिएको थियो कि थिएन ? उनीहरुले त्यसमा कस्तो प्रतिक्रिया दिएका थिए लगायतका विवरण मागेका छौँ।’

यस्तै कम्पनी रजिस्टारको कार्यालयसँग एनसेल कम्पनी प्रशासन सम्बन्धी, कम्पनीको नियमनसँग सम्बन्धित, त्यसको कारोबारसँग सम्बन्धित, शेयर हस्तान्तरसँग सम्बन्धित विषयका सम्पूर्ण कागजातहरू मागिएको उनले बताए ।

यस्तै सरोकारवाला विषय विज्ञहरू चार्टर एकाउन्टेन्ट, कानुनविद् लगायतसँग अन्तरक्रिया लगायतका कामहरू जारी राखिएको छानबिन समितिले जनाएको छ । यस्तै समितिले एनसेल शेयर खरिदबिक्रीका विषयमा जानकार विषय विशेषज्ञहरूसँग छलफल गर्दै राय सुझाव लिने काम पनि गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर