ग्लोबल आइएमई बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रूपैयाँ र करपछिको मुनाफा ६ अर्ब ६९ करोड रूपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रूपैयाँ ८७ लाख पुग्नेछ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।

यसैगरी उक्त साधारणसभाले संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जनासमेत जम्मा ६ जना सञ्चालकको निर्वाचन गरेको छ । संस्थापक शेयरधनीहरूमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।सबै सञ्चालक समिति सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा ६ अर्ब ८१ करोड रूपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रूपैयाँ कायम भएको छ । बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रूपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ११०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर