महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई छिटो न्याय दिन पहल गर्छु : प्रस्तावित न्यायाधीश सुवेदी

सर्वोच्च अदालतकी प्रस्तावित न्यायाधीश शारंगा सुवेदीले महिला, बालबालिका र ज्येष्ठ नागरिकलगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गलाई छिटो-छरितो रूपमा न्याय दिन पहल गर्ने बताएकी छन् ।

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश सुवेदीले महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिसहरूसँग सम्बन्धित विवादलाई छिटो- छरितो रूपमा निरूपण गरी न्यायको प्रत्याभूति दिन विशेष पहल गर्ने बताएकी हुन् ।

उनले न्यायमा विलम्बले न्यायलाई पराजित गर्ने भन्दै छिटो-छरितो न्यायसम्पादन गर्ने कुरालाई आफूले प्राथमिकतामा राख्ने बताइन् । उनले न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता गरिन् ।

त्यस्तै उनले न्यायपालिकाको रणनीतिक योजना निर्माण र सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवको आधारमा यथाशक्य योगदान पुर्‍याउने पनि बताइन् ।

सुवेदीले मुद्दाको व्यवस्थापन, इजलासको समयको व्यवस्थापनमा आफ्नो सक्रिय पहल र सहभागिता रहने बताइन् । त्यसैगरी न्यायिक सुधारका कार्यमा आफ्ना प्रयासहरू जारी रहने बताइन् ।

उनले विधिको शासन कायम गर्न, लोकतान्त्रिक मूल्य र मान्यताहरूमा आधारित लोककल्याणकारी राज्यको स्थापना गर्ने कार्यमा आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्न प्रतिबद्ध रहेको पनि बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *