रामजानकी विवाहका लागि जनकपुरधाममा दर्शनार्थीको घुइँचो

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज रामजानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ । यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ ।

विवाहपूर्व आज जानकी मन्दिरबाट निस्किने माता सीताको डोला अर्थात् बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान् रामको डोला अर्थात् बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्दछन् । रंगभूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौंको संख्यामा उपस्थित तीर्थालुहरूका बीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रमको आयोजना हुने गर्दछ ।

सो स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएका तीर्थालुहरूको उल्लेख्य संख्यामा उपस्थिति हुने गर्दछ । स्वयम्वर कार्यक्रमको समापन भएपश्चात रंगभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रूपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्रांगण पुग्ने गर्दछ ।

जानकी मन्दिरकै प्रांगणमा भारतको अयोध्याबाट जन्तिका रूपमा आएका साधु-सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ । मिथिलाको विधि-विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्रांगणमा हजारौंको संख्यामा तीर्थालुहरूको उपस्थिति रहने गर्दछ । पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरूको संख्या उल्लेख्य मात्रामा वृद्धि हुने विश्वास गरिएको छ । रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौं दर्शनार्थीहरूको घुइँचो लागेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *