यी हुन् मंसिर २८ मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सरकारले विद्युत खपथ वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गरेको छ ।

मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् ।

उनका अनुसार सरकारले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समभmदारी पत्र स्वीकृत गर्ने, फिनल्याण्डमा होलसिन्कीमा आयोजना हुने इन्टु साइटुको २२ औं वार्षिक बैठक तथा तालिममा सहभागी हुन उपमहालेखापरीक्षक पदमराज पौडेललाई उपस्थित हुन स्वीकृत दिने, हुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकास्थित करिब ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने, पूर्व-पश्चिम विद्युतीय ल्याण्डमार्गको निजगढ-बर्दिवास खण्डमा पर्ने घर, टहरा तथा जग्गाहरूको मुआब्जा राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने, नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने, नेपाली सेनाका सहायक रथी सन्तोषवल्लभ पौडेललाई उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले नेपाल र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने, दुनु नगरपालिका दैलेख, फलेवास नगरपालिका पर्वत, गलकोट नगरपालिका बागलुङ, जलजला गाउँपालिका पर्वत, कालिमाटी गाउँपालिका सल्यान, पाँचखपन नगरपालिका संखुवासभा, छत्रदेव गाउँपालिका अर्चखाँची, अहर्नमा गाउँपालिका सिरहा, गल्छी गाउँपालिका धादिङ, गलबजार नगरपालिका सिरहा, मध्यपुरथिमी नगरपालिका भक्तपुर, बर्दिवास नगरपालिका महोत्तरी, हरिनगरा गाउँपालिका सुनसरी र राजपुर नगरपालिका रौतहटलाई स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेकी शर्माले सरकारले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत गर्ने, वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्ने, हातहतियार खरखजाना नियमावली १२ औं संशोधन, २०८० स्वीकृत गर्ने, कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने, राष्ट्रिय बृहत् जलधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

प्रवक्ता शर्माले सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने, राजपत्रांकित विशिष्ट श्रेणीका सुरेश आचार्यसमेतका सात जना सचिवहरूको सरूवा गर्ने निर्णय गरेको पनि बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *