मलेसियामा नेपालीले गरे नेपालीको हत्या, हत्यापछि फरार अभियुक्त काठमाडौंमा पक्राउ

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक नेपालीको हत्या भएको छ।

हत्या आरोपमा उनीसँग एकै कम्पनीमा काम गर्ने एक नेपाली पक्राउ परेका छन्।

झापाको शिवसताक्षी नगरपालिका-३ का ४० वर्षीय धनबहादुर प्रधान विगत एक वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए।

उनको गत मंसिर २५ गते हत्या भएको हो। उनको हत्या आरोपमा नेपाल प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महोत्तरीको गौशाला नगरपालिका-५ का २४ वर्षीय अनिलकुमार साहलाई पक्राउ गरेको हो।

अनिल धनबहादुरको हत्यापछि भागेर नेपाल आएको भन्दै मृतक धनबहादुरकी श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

अनिललाई मंसिर ३० गते आफ्नो हुलिया बदलेर हिमालयन एयरलाइन्सबाट नेपाल आउँदै गर्दा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले विमानस्थलबाट पक्राउ गरेको हो।

पक्राउ परेका अनिलविरूद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर इन्टरपोलमार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर