अब खाणको राजनीतिक यात्रा कता ?

सात महिनाको जेल बसेर धरौटीमा छुटेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको आगामी राजनीतिक यात्राको विषयलाई लिएर विभिन्न कोणबाट बहस शुरू भएको छ। भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँण जेलमुक्त भएपछि राजनीतिक वृत्तमा उनको अबको राजनीतिक यात्राबारे बहस शुरू भएको हो।

कांग्रेसकै कतिपय नेताहरूले खाँणलाई पार्टीको संस्थापन पक्षबाट पर्याप्त सहयोग नभएको र कांग्रेसकै सहयोगमा बनेको वर्तमान सरकारले झुटो मुद्दा लगाएर जेल हालेको तर्क गर्ने गरेका छन्।भुटानी शरणार्थी काण्डमा पक्राउ गर्दा कांग्रेसकै संस्थापन पक्षका नेताहरूले खाँणलाई पार्टी केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग गरेका थिए।

यद्यपि, उक्त समयमा पार्टी सभापति शेरबहादुर देउवाले उनलाई निलम्बन गर्न हतार गर्न नपर्ने भन्दै कारबाही गर्नबाट रोके।संस्थापन पक्षका प्रभावशाली नेता मानिएका पूर्व गृहमन्त्री खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनलाई सम्पति शुद्धीकरणले १५ लाख धरौटी लिएको थियो भने अख्तियारले साधारण तारेखमा छाडेको हो।

उनको विषयमा राष्ट्रिय राजनीति र पार्टी राजनीति चासो व्यक्त हुनुलाई स्वाभाविक भएको जिकिर गर्दै कांग्रेसका सांसद सुनिल शर्माले भने– ‘नेता खाँणलाई नेपाली कांग्रेसकै सहयोगमा बनेको वर्तमान सरकारले झुटा मुद्दा लगाएर जेल पठाएको हो। आगामी पार्टी राजनीतिमा संस्थापन टिमको नेतृत्व गर्न सक्ने नेता खाँणलाई साइजमा राख्नका लागि पार्टीकै केही नेताहरूले भूमिका खेलेका थिए।’

कांग्रेस संस्थापनइतर समूहका नेता शर्माको भनाइलाई मान्ने हो भने खाँणको आगामी राजनीतिक यात्रा कांग्रेस संस्थापनइतर समूहबाटै हुने संकेत गर्छ। सुन्धारास्थित केन्द्रीय कार्यालयमा थुनामा रहँदा खाणलाई दिनहुँजसो उच्च पदस्थ नेतादेखि कार्यकर्ता र शुभेच्छुक भेट्न पुगिरहन्थे।

खाँणले परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा आफूलाई अन्यायपूर्ण व्यवहार भएको गुनासो गरेका थिए। जेलमा परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा खाँणले भनेका थिए– ‘थाहा छैन, जेलमा सड्छु कि के गर्छु तर जेलबाट निस्किएँ भने चाहिँ भन्नुपर्ने कुराहरू भन्छु।’

उनको धम्कीपूर्ण उक्त अभिव्यक्ति पार्टी सभापति देउवा खेमामा लक्षित थियो। उनले बाहिर बोल्ने कुरा केही नभएको तर विशेष मान्छेहरूका बीचमा सबै कुरा राख्ने बताउँदै आएका छन्।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर