न्यायाधीशका कारण निर्दोष व्यक्ति थुनामा रहनुपर्ने अवस्था अन्त्य गर्छु : प्रस्तावित न्यायाधीश पोखरेल

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश पोखरेलले न्यायाधीशको समयका कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन्।

उनले न्यायसम्पादन गर्दा पहिलो प्राथमिकता राज्यलाई, दोस्रो प्राथमिकता व्यक्तिलाई र तेस्रो प्राथमिकता सरकारलाई दिने प्रतिबद्धता व्यक्त गरे। उनले न्यायसम्पादनका क्रममा आफूसमक्ष आएका विवादलाई नपन्छाउने बताए।

त्यस्तै कसैप्रति पूर्वाग्रह नराखी, संविधान, कानुन र न्यायका मान्यताहरूका आधारमा निर्णय लिने पनि उनले बताए। उनले आफ्नो न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण नबनाउने पनि बताए।

प्रस्तावित न्यायाधीश पोखरेलले संविधान, कानुनले अंगीकार गरेका मूल्य र मान्यतालाई शिरोधार्य गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्यायसम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसीमा अब्बल साबित हुने इमान्दार प्रयास गर्ने पनि उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *