एनसेल प्रकरणमा छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले समितिले दूरसञ्चार प्राधिकरणको नियमाकीय अधिकारमा कुनै हस्तक्षेप नगर्ने बताएका हुन्।

सांसदहरूले एनसेल छानबिन प्राधिकरण आफैंले गर्न सक्ने भए पनि समिति बनाइएको भन्दै समितिको कामकारबाहीप्रति आशंका व्यक्त गरेका थिए।

जवाफमा प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा प्राधिकरणले प्रचलित कानुनबमोजिम भए/नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने बताए।

प्राधिकरणलाई कारबाही गर्न कसैले नरोकेको र समिति बनाएर रोक्ने मनशाय पनि नराखिएको उनले स्पष्ट पारे।

उनले एनसेल खरिद-बिक्री प्रक्रियामा राजस्व छली, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानुनी व्यवस्थाको उल्लंघन भएको हो कि भन्ने चासो रहनु स्वाभाविक भएको बताए।

उनले यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पर्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकाले समिति बनाइएको बताए।

उनले छानबिन समितिका संयोजक टंकमणि शर्मा उपयुक्त पात्र भएको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *