चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो

उत्तरपश्चिमी चीनमा गएकाे भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १२६ पुगेकाे छ ।

मंगलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठीक अघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका थिए । सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किंघाई प्रान्तको ह्याडोङमा थप १३ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका हुन् ।

सरकारी प्रसारक सीसीटीभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा घेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए । भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पुरै ढलेको देखिएको एएफपीका संवाददाताहरूले बताएका छन् ।

‘म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन,’ उक्त घरका बासिन्दा मा वेनचाङले भने, ‘म अब यो घरमा बस्न सक्तिनँ किनकि यो धेरै खतरनाक छ, मेरा आफन्तहरूलाई अन्यत्र कतै सारिएको छ ।’

अर्को स्थानमा एउटा मस्जिदको छानो भत्किएको छ र अर्को भवन भग्नावशेषमा परिणत भएको छ । सडकहरू आपतकालीन सवारीले भरिएका थिए र एएफपीको टोलीले ‘भूकम्प राहत आपूर्ति’ लेखिएको रातो ब्यानरले ढाकिएका ट्रकहरू देखेका थिए ।

साँझ भएपछि स्वयंसेवकहरूले उद्धारकर्मीहरूका लागि आधार बनाउन सहरको चोकमा टेन्ट लगाउन प्रयास गरेका छन् । छेउमा दुई दर्जन सैन्य ट्रक राखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर