उदयपुर र हेटौंडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन

संसदीय समितिले उदयपुर र हेटौंडा सिमेन्ट उद्योग पूर्ण रूपमा सञ्चालन गर्न परेका समस्या र चुनौतीका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतकोे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समितिले हेटौंडा र उदयपुर सिमेन्टको आर्थिक, भौतिक र वर्तमान अवस्थाबारेमा अध्ययन गरी उद्योग पूर्ण क्षमतामा चलाउन सक्ने/नसक्ने अवस्थाबारेमा विज्ञसहितको टोलीमार्फत अध्ययन गरी त्यसको प्रतिवेदन समितिलाई बुझाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले उदयपुर र हेटौंडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको अध्ययन गरी प्रतिवेदन समितिलाई बुझाउन निर्देशन दिए । उनले ‘दुई सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन कुन मोडल आवश्यक छ’ समेत खुलाएर प्रतिवेदन बुझाउन निर्देशन दिए ।

त्यस्तै सभापति खानले नेपालमा उत्पादन हुने चिनी र खपत हुने चिनीका विषयमा विस्तृत अध्ययन गरी नेपाललाई अपुग चिनी समयमा नै खरिद प्रक्रिया सुरू गरेर आपूर्ति व्यवस्था सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।

उनले बजार अनुगमन प्रभावकारी बनाउन तीन तहमा कानुनी र नीतिगत रूपमा एकरूपता ल्याउने विस्तृत कार्ययोजना बनाउन केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिए ।

उनले बजार अनुगमनका लागि हाल मौजुदा रहेका कानुनहरूमा संशोधन गर्न र विवरण समितिलाई उपलब्ध गराउन पनि मन्त्रालयलाई निर्देशन दिए । बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि प्राप्त दक्ष जनशक्तिको व्यवस्था गर्न उनको समितिको निर्देशन छ ।

समितिले उखु किसानलाई भुक्तानी गर्न बाँकी रकम दिने सरकारको निर्णयको स्वागत गरेको छ । त्यस्तै कञ्चनपुर र कपिलवस्तु जिल्लाका उखु किसानहरूले आर्थिक वर्ष २०७०/७१ को उखु उत्पादन प्रवर्द्धन खर्च रकम हालसम्म नपाएकाले कार्यदलले गरेको सिफारिसका आधारमा तत्काल भुक्तानी दिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर