नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद छैन : प्रधानसेनापति

‘कागजात सही हुँदाहुँदै पनि उपरथी ताराध्वज पाण्डेले विवादमा परेपछि मेरै सल्लाहमा राजीनामा दिनुभएको हो’

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरूको जन्ममितिमा विवाद झिकेको बताएका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको बताएका हुन्।

उनले नेपाली सेनाका तत्कालीन उपरथी ताराध्वज पाण्डे र रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको बताए। उनले आफुहरूले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ती सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको स्पष्ट पारेका हुन्।

उनले सेनालाई गिराउन खोज्ने तत्त्वले अनावश्यक विवाद निकालेका बताए। उनले कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको उल्लेख गरे।

प्रधानसेनापति शर्माले विवाद ल्याउनेहरू गलत भएमा कारबाही गर्ने कानुनी व्यवस्था हुनुपर्ने बताए। जसलाई जे मन लागे पनि बोल्न पाइने अवस्थाले यस्ता विवादहरू निकालिने गरेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *