विद्यमान कानुन नसच्याइए तोकिएको समयसम्म फास्ट ट्र्याक निर्माण सम्पन्न हुँदैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले विद्यमान कानुन नसच्याएसम्म निर्धारित समयमा काठमाडौं-तराई/मधेस द्रुतमार्ग निर्माणको काम नसकिने बताएका छन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले कानुनी उल्झनका कारण काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक निर्माणको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताएका हुन्।

उनले कानुनी प्रक्रियाका कारण ४ वटा रूख काट्न ९ महिनासम्म लाग्ने गरेको भन्दै यही कानुनी व्यवस्था रहिरहेमा २०८३ सालसम्ममा द्रुतमार्ग निर्माणको काम नसकिने बताए। उनले विकास निर्माणमैत्री कानुन नभएको भन्दै यसका कारण काम गर्न ढिलाइ भइरहेको बताए।

उनले पैसाको कारणले काम गर्न ढिला नभएको बताए। प्रधानसेनापति शर्माले नेपाली सेनाले फास्ट ट्र्याक निर्माण गर्नका लागि नमागेको भन्दै सरकारले दिएको जिम्मेवारी स्वीकार गरेर काम गरिरहेको बताए।

उनले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काममा विद्यमान ऐन, कानुन र नियमको परिधिभित्र बसेर ठेक्का लगाएको पनि बताए। उनले द्रुतमार्ग निर्माणको काममा अहिलेसम्म अनियमितता नभएको र आगामी दिनमा पनि नहुने भन्दै त्यसो भएमा कारबाही गर्ने बताए।

उनले सेनाप्रतिको आशंका अन्त्य गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सेनाको कामलाई विवादित पार्न नदिने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *