देशलाई अर्बाैं ऋण बोकाएर कौडीको भाउमा चिनियाँ जहाज बेच्न खोजियो : सांसदहरू

५ वटा चिनियाँ जहाज लिलामी नगर्न सांसदहरूले माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले नेपाल एयरलाइन्सले आज नै दुईवटा एमए-६० र तीनवटा वाई-१२ई जहाज बेच्न लागेको जानकारी आएको भन्दै लिलामी रोक्नुपर्ने बताए ।

उनीहरूले नेपाल एयरलाइन्सले चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर कौडीको भाउमा बेच्न लागेको भन्दै रोक्नुपर्ने धारणा राखे । सांसदहरूले जहाज किन्ने बेलामा कुन सर्त र औचित्यका आधारमा किनेको र आज किन कबाडीको मूल्यमा बेच्न लागेको भन्ने कुरा संसदलाई जानकारी दिनुपर्ने बताए ।

उनीहरूले जहाज खरिदपछि २ अर्ब रूपैयाँ खर्च लाग्नु देशका लागि दुभाग्यपूर्ण भएको उल्लेख गरे । सांसदहरूले अर्बौं रूपैयाँ ऋण गरेर जहाज खरिद गर्नु र प्रयोगमा नल्याई राज्यलाई अर्बौंको घाटा लगाएर लिलामी गर्नु राज्यको कमजोरी भएको बताए ।

उनीहरूले भएका जहाज लिलामीमा राख्ने र नयाँ जहाज खरिद गर्दा २२ वटा विमानस्थलहरू सञ्चालनमा आउने ग्यारेन्टी कसले लिने भन्दै प्रश्न गरे ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले चिनियाँ जहाज खरिद गर्दाको सर्त र औचित्यको पुष्टि गर्नुपर्ने बताए । चिनियाँ जहाज खरिद गरेर राज्यलाई ३ अर्ब रूपैयाँको ऋण बोकाउने काम भएको बताए ।

अहिलेसम्मको खर्च हेर्दा करिब २ अर्ब रूपैयाँ बढी भार थपिनु दुभार्ग्य भएको उनले उल्लेख गरे । उनले चीन सरकारको ३ अर्ब रूपैयाँमा जहाज लिलाम गरेर तिर्न सकिन्छ भन्दै प्रश्न गरे ।

उनले हवाई सुरक्षाको विषयमा युरोपियन युनियनले भनेको कुरालाई मान्नैपर्ने भन्ने नभएको बताए । उनले सरकारले वास्तविकतालाई हेरेर काम गर्न आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसकै सांसद प्रकाशमान सिंहले पर्यटनमन्त्रीले २२ वटा विमानस्थलहरू जहाज नभएका कारण सञ्चालन गर्न नसकिएको बताएको भन्दै नयाँ जहाज खरिद गर्दैमा विमानस्थल सञ्चालन गर्ने सरकारको योजना बताउन आग्रह गरे । निगमले जहाज मात्रै किन्ने अनि चिनियाँ जहाजजस्तै बनाउने योजना हो भन्दै उनले प्रश्न गरे ।

उनले चिनियाँ जहाज किन्दा पनि राम्रो उडान गर्ने भनेर लिएको भन्दै नेपाल एयरलाइन्सलाई घाटामा लैजाने काम गरेको बताए ।

उनले नेपाल एयरलाइन्सको सर्भिसमा सुधार गर्न आवश्यक रहेको बताए । उनले अर्बौं लगानी गरेर दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरू बनाएर सरकारले सञ्चालनमा ल्याउन नसक्नुको कारण माग गरे ।

आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले चिनियाँ जहाज खरिद गर्नेहरूलाई कानुनी कठघरामा सरकारले ल्याउन सक्नुपर्ने बताए । उनले जहाज खरिद गर्ने बेलामा के औचित्यका आधारमा खरिद गरिएको थियो भन्ने कुरा अध्ययन नगरी बेच्न नहुने बताए ।

उनले मन्त्रीपिच्छे उनीहरूको योजनाअनुसार पछाडि हिँड्न नहुने बताए । उनले निगमले ५ चिनियाँ जहाज बेच्ने हो भने समितिले रोक्नुपर्ने बताए । उनले मन्त्रालयले जहाज किन्नुको चित्तबुझ्दो कारण देखाउनुपर्ने बताए ।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ को अवस्थाबारे मन्त्रीले जानकारी दिनुपर्ने बताए । उनले निगमले आइकाओको कालोसूचीबाट हटाउनका लागि के-के काम भएको छ सोबारे समितिलाई जानकारी दिनुपर्ने बताए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमबाट खोसेर निजी कम्पनीलाई दिने कुरा स्वीकार गर्न नसकिने बताए ।

निगमले ५ वटा जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेर राखेको छ । आन्तरिक उडानका लागि चीनबाट २०७१ सालपछि भित्र्याउन सुरू गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र व्यहोरेको छ ।

साढे ४ अर्ब रूपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसत ३८ करोड रूपैयाँ घाटा व्यहोरेको छ । सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो नदिएपछि नेपाल वायुसेवा निगमले भाडामा लगाउन खोजेको थियो । तर, भाडामा लिन कोही आएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर