चिनियाँ जहाज सेतो हात्ती भयो, छानबिन समिति बनाए लिलामी राेक्छु : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदीय समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका हुन् ।

नेपाल एयरलाइन्सले आज मात्रै ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको थियो । सांसदहरूको सोही जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किरातीले दोषीलाई कारबाही गर्ने गरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने प्रतिबद्धता जनाए ।

उनले वर्षमा २० करोड रूपैयाँभन्दा बढी घाटा व्यहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा व्यहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताए ।

‘चिनियाँ जहाज सेतो हात्ती थियाे, सेतो हात्ती भयो । संसद थर्काउने हामी त हो । हामी नै हो संसद, पत्रपत्रिका, चिया पसलमा बोल्ने । निकाय दिऔं भनेर टेण्डर निकाल्यो किन भन्छन् ? गर्नु के ?,’ मन्त्री किरातीले भने, ‘यो चाहिँ केही न केही बहस होस् भनेर नै टेण्डर निकालेको हो । कि त अब उपाय निकाल्नुहोस्, यो समितिले । छानबिन समिति बनाइदिनुहोस् न त, हामी फिर्ता गरिहाल्छौं नि । तर दोषीलाई कारबाही गर्ने गरी । कर्मकाण्डी होइन ।’

उनले जहाज कसरी, किन, कसको स्वार्थमा किनिएकाे थियाे, जानकारी नभएकाे बताए।

मन्त्री किरातीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गरे । उनले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताए ।

उनले कामका लागि अघि बढ्दाबढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको टिप्पणी गरे ।

मन्त्री किरातीले आफूलाई परिणाम दिने गरी काम गर्न मन लागेको भए पनि काम गर्न नपाएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर