सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरिएका कार्य सफल : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशान स्थापना र सामाजिक न्यायका लागि सरकारले अगाडि बढाएका कामहरू सफल भएको बताएका छन्।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सुशासन कायम गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ, सामाजिक न्याय र समृद्धिका लागि सरकारले अगाडि बढाएका कार्य सफल पनि भएका छन्।’ उनले वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गरे।

प्रधानमन्त्री दाहालले मिटरब्याजीहरूबाट पीडितका विषयलाई सम्बोधन गरिएको, नागरिकतासम्बन्धी समस्या समाधान गरिएको एवं सामाजिक न्याय स्थापनाका लागि भएका प्रयासहरू वर्तमान सरकारका महत्त्वपूर्ण कार्य भएको उल्लेख गरे। उनले भ्रष्टाचारविरूद्ध एवं सुशासनका पक्षमा गरिएको कारबाही ऐतिहासिक भएको बताए।

प्रधानमन्त्री दाहालले भूमाफिया एवं तस्करीविरूद्धको कारबाहीमा पनि सरकार खरोसँग उत्रिएको बताए। उनले अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सरकार पूर्ण रूपमा सफल भएको बताए।

प्रधानमन्त्री दाहालले एनसेलका सम्बन्धमा प्रर्याप्त तथ्य, प्रमाण र तथ्यांक राज्य व्यवस्था समितिको बैठकमा पेस भइसकेको भन्दै नेपालको संविधानअनुसार राष्ट्र र जनताको पक्षभन्दा बाहिर कोही कसैलाई जान नदिने दृढता व्यक्त गरे।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टीको नामका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा समाजवादको भाव आउने खालको नयाँ नाम राख्ने गरी छलफल भइरहेको जानकारी दिए। उनले कोशी प्रदेशको नाममा देखिएको असहमति संवाद गरेर सहमतिद्वारा टुंगो लगाउनुपर्ने बताए। प्रदेशको नामको विषयलाई चर्काउने भन्दा पनि सहज प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनको जोड थियो।

प्रधानमन्त्री दाहालले विकास निर्माण तथा जनताको काम गर्नका लागि नयाँ ढंगबाट सरकार अगाडि बढ्ने बताउँदै यस सम्बन्धमा मन्त्रीहरूलाई लक्ष्य दिइने र सम्पन्न नभए सोहीअनुसार निर्णय गरिने बताए।

प्रधानमन्त्री दाहालले शुक्रबार सुनसरीको भोक्राहामा विद्युत प्रसारण लाइनको उद्घाटन गर्ने, मोरङको मिक्लाजङ गाउँपालिकामा विकास कार्यको अनुगमन गर्ने र विराटनगरस्थित मोरङ व्यापार संघद्वारा आयोजित विराट एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *