कांग्रेसमा बरियता विवाद उत्कर्षमा, नेताहरूले छाडे एउटै मञ्च सेयर गर्न

सरकारको मुख्य सहयात्रीसमेत रहेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मर्यादा विवाद उत्कर्षमा पुगेको छ। पार्टीको आन्तरिक कार्यक्रममा नेताहरूबीच को सिनियर भन्ने विषयमा हुने गरेको विवाद पछिल्लो समयसम्म आइपुग्दा सार्वजनिक रूपमै छताछुल्ल भएको हो।

पार्टीमा सभापतिपछिको दोस्रो वरीयतामा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै वरीयताक्रममा रहने वरिष्ठ नेता खाली भएपछि शेरबहादुर देउवासँगै १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा गरेका नेता डा. शेखर कोइरालाले वरिष्ठताको दाबी गर्दै आएका छन्।

गत भदौमा भएको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले नेता कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने बताए पनि हालसम्म उक्त स्थान खाली छ।अहिले सभापतिपछि वरीयताक्रममा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। पार्टीको प्रस्तावित वरीयता क्रमअनुसार पहिलोदेखि पाँचौं स्थानसम्म वर्तमान सभापति देउवा मात्रै पर्छन्।

त्यसपछि केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरू रहनेछन्। तर, पार्टीका प्रायः सबै कार्यक्रममा सभापतिपछिको मर्यादामा नेता कोइरालालाई नै विशेष अतिथिका रूपमा स्थान दिने गरेका छन्।

प्रस्तावित वरीयता क्रममा नवौं स्थानमा राखिएका नेता कोइरालालाई पार्टीका हरेक कार्यक्रममा आफूभन्दा माथि राख्ने नजिर बसाउन थालेपछि उपसभापति पूर्णबहादुर खड्का कोइराला गएको कार्यक्रममा जान छाडेका छन् छ। कोइराला पनि सभापतिभन्दा दोस्रो मर्यादामा आफूलाई नराखेको कार्यक्रममा सहभागी हुन छाडेका छन् ।

त्यस्तै, वरीयता क्रममा पदाधिकारीपछि प्रस्ताव गरिएका पूर्वउपसभापतिहरू समेत यस विषयमा असन्तुष्ट छन्। बिहीबार जनकपुरमा भएको कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलनमा मर्यादा विवाद सार्वजनिक रूपमै छरपस्ट भयो।

पार्टीका पूर्वउपसभापतिसमेत रहेका कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले आफ्नै भूमिमा गरिएको पार्टी कार्यक्रमको मञ्चमा बोल्न पाएनन्। सो कार्यक्रममा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्री गगन थापाले मात्रै कार्यक्रमलाई सम्बोधन गरे।

वरीयता क्रममा असन्तुष्टि जाहेर गरेका नेता निधि आसन ग्रहणका क्रममा मञ्चमा बोलाइए पनि मञ्चमा नगई दर्शकदीर्घामा बसे। कार्यक्रममा मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका नेपाली कांग्रेस मधेस प्रदेशका नेताहरूले बताएका छन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर