ज्येष्ठ नागरिकको घरमै उपचार, गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिका-८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन् । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो ।

बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो । चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उनी दङ्ग परिन् । घरमै चिकित्सक आएर उपचार गर्छन् भन्ने तुलसीले कल्पना पनि गरेकी थिइनन् । जब थालेपोखरा गाउँमा नगरपालिकाबाट जनप्रतिनिधिसहित चिकित्सक र स्वास्थ्यकर्मी टोली पुग्यो तुलसीसहित गाउँका धेरै मानिस अचम्मित भए ।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुशील पौडेल, गलकोट नगर अस्पतालका एमडी जिपी डा राजेश पौडेल लगायतको टोलीले ढेड सय बढी ज्येष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ । गाउँभन्दा टाढा हुँदा धेरै नागरिक बिरामी भएर पनि अस्पताल पुग्न सक्दैनथे । सामान्य बिरामीले गाउँको सहरी स्वास्थ्य केन्द्रमा उपचार पाउँथे । नगरपालिकाले दूर दराजका नागरिकलाई लक्षित गरी घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाए ।

पुनले टाढा जान नसक्दा अहिलेसम्म गाउँमै रोग पालेर बस्नु परेको सुनाइन् । घरै नजिक आएको चिकित्सकसहितको टोलीले आफ्नो निःशुल्क स्वास्थ्य जाँच गरी औषधी दिएको उनको भनाइ छ । औषधी खाएर निको नभए पुनः चिकित्सकले जाँच गर्ने पुन बताउछिन् । आफूलाई चक्कर आउने र टाउको दुख्नेबाहेक अरू समस्या नभएको सुनाउँदै घरमै आएर उपचार गरिदिँदा खुशी लागेको उनले बताइन् । अहिलेसम्म यो गाउँमा चिकित्सक कहिल्यै नआएको भन्दै पहिलो पटक विशेषज्ञ सेवा लिन पाएको पुनको भनाइ छ ।

स्थानीय ६० वर्षीय दुर्गाबहादुर खत्रीले सुविधायुक्त अस्पताल नजिक नहुँदा धेरै नागरिकले दुःख पाएको भन्दै गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताए । अहिलेसम्म विशेषज्ञ चिकित्सक आएर गाउँमा यस किसिमको शिविर नभएको भन्दै यसपालि नगरपालिकाले यहाँका नागरिकको समस्या बुझेको उनको भनाइ छ । गाउँ–गाउँमा सुविधा सम्पन्न अस्पतालहरू नभए पनि समय–समयमा दूर दराजमा पुगेर स्वास्थ्य सेवा दिँदा धेरै नागरिक लाभान्वित हुने खत्रीले बताए । यो गाउँ अहिलेसम्म विकट रहेको र सडकको अवस्था पनि निकै जोखिमयुक्त हुँदा अस्पतालसम्म सहज रूपमा पुग्न नसकिने उनको भनाइ छ ।

नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी अघिल्लो वर्षदेखि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकामा यस वर्ष निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पनि सुरुआत गरेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुशील पौडेलले जानकारी दिए । ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधी दिँदा उनीहरूलाई टाढा जान नपर्ने र खर्च पनि नहुने पौडेलको भनाइ छ । नगरपालिकाअन्तर्गत ६० वर्षभन्दा माथिका पाँच हजार ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको उनले बताए।

वर्षको दुई पटक घरमै पुग्ने, पहिलो पटक स्वास्थ्य परीक्षक गरी औषधी दिनाका साथै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्डसमेत दिने र पुनः अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने संयोजक पौडेलको भनाइ छ । ज्येष्ठ नागरिकको घरमै पुगेर सुगर, प्रेसर, आँखा, छालालगायत रोगको जाँच र निःशुल्क औषधी दिने गरेको उनले बताए । यस वर्ष घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र शिविरका लागि नगरपालिकाले रु सात लाख विनियोजन गरेको पौडेलको भनाइ छ । नगरपालिकाको ११ वटै वडामा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै विशेषज्ञ स्वास्थ्य शिविर गरिने उनले बताए ।

‘गलकोट नगरपालिकामा पाँच हजार ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरूको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधी उपलब्ध गराउने छौँ, यो कार्यक्रम पोहोर सालदेखि सुरु गरेका हौँ, यस वर्ष थप प्रभावकारी बनाउन लागिरहेका छौँ,’ उनले भने, ‘ज्येष्ठ नागरिक कोही पनि छुट्नुहुने छैन, अन्य नागरिकले पनि शिविरबाट सेवा लिनुहुने छ, ११ वटै वडामा पुगेर सेवा प्रदान गर्ने छौँ ।’

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जनतालाई स्वस्थ राख्नका लागि घरघरमा पुगेर स्वास्थ्य सेवा दिन थालिएको बताए । पालिकाले हरेक वर्ष स्वास्थ्यमा नयाँ-नयाँ काम गर्दै आएको भन्दै यस वर्ष सुगमदेखि दुर्गमसम्मका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन लागेको उनको भनाइ थियो । कोही पनि नागरिकले उपचार नपाएर दुःख नपाओस् भन्ने हिसाबले गाउँमै स्वास्थ्य सेवा पुर्‍याउनका लागि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र स्वास्थ्य शिविर सुरु गरिएको प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर