नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका

कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको छ ।

नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयम्सेवक परिचालन गरेको हो । पालिकाले एक सय २० स्वयम्सेवक महिलालाई तीन-तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ ।

स्वयम्सेवक महिलालाई नसर्ने रोगका प्रकार, लक्षण, बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ । उनीहरुले समुदायमा गएर टोल भेला, गाउँघर क्लिनिक, आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले पालिकामा दैनिक नसर्ने रोगको जटिल समस्या भएका उपचारका लागि सिफारिस लिन आउन थालेपछि स्वयम्सेविका परिचालन गरेको हो । पालिकामा नसर्ने रोगमध्ये मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, हृदयघात, मस्तिष्कघात, मधुमेह (चिनी रोग), दम, सिओपिडी र क्यान्सरको समस्या भएकाहरु दैनिक उपचारका लागि सिफारिस लिन आउने गरेका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले बताए ।

समाजमा नसर्ने रोगका बिरामी धेरै भए पनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेको र अन्तिम अवस्थामा जानकारी पाएर उपचारमा जाने भएकाले पालिकाले सचेतना फैलाउन थालेको जनस्वास्थ्य निरीक्षक धर्मसिँह बटालाले बताए ।

समुदायमा गएर स्वयम्सेविकाले नसर्ने रोगबाट बच्न स्वस्थ्य खाना खाने, खानामा नुन र चिनी कम गर्ने, मैदाबाट बनेका परिकार कम खाने वा नखाने, बच्चा जन्मेको ६ महिनासम्म स्तनपान अनिवार्य गराउने, नियमित रुपमा शारीरिक व्यायम, कसरत गर्ने, क्यान्सर रोकथामका लागि ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ह्युम्यान पापिल्लोमा भाइरसको तीन मात्रा खोप लगाउने, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाले पाठेघरको मुखको जाँच गराउने, ४० वर्ष नाघेका महिलाले स्तनको जाँच मेमोग्राफी गर्ने र कलेजोको क्यान्सर रोकथामका लागि हेपाटाइसिस ‘बी’को खोप लगाउनेलगायत कुरा जानकारी दिन थालेका छन् ।

नसर्ने रोग सरुवा रोगभन्दा भयानक रोग बन्दै गएकाले आफूहरुले सचेतना फैलाउन थालेका महिला स्वास्थ्य सेवक चन्द्रा चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर