सवा एक अर्ब भ्रष्टाचार मुद्दामा महानिर्देशकसहित २६ जनालाई विशेषको सफाइविरूद्ध सर्वोच्च पुग्यो अख्तियार

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र कानुन सेवाका उपसचिव सपना अधिकारीसमेत २६ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्च अदालतमा मुुद्दा परेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेषको फैसलामा असन्तुष्टि जनाउँदै शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

उनीहरूले सवा एक अर्ब रूपैयाँ सरकारलाई हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । तर विशेषले दाबीको क्षतिपूर्तिको विषय राजस्वको परिभाषाभित्र नपर्ने देखिएको भन्दै सफाइ दिएको थियो ।

घिमिरे र उपसचिव अधिकारीसमेतले गलत प्रतिवेदन र टिप्पणी राय उठाएर राजस्व चुहावट गरी चुनढुंगा-सिमेन्ट कम्पनीलाई फाइदा र सरकारलाई एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६४३ रूपैयाँ हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उनका अनुसार प्रतिवादीसहित सिद्धार्थ मिनरल्स प्रालि, मारुती सिमेन्टस् लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रालि, सोनापुर मिनरल्स एण्ड आयल प्रालि, सर्वोत्तम सिमेन्ट प्रालि, युनाइटेड सिमेन्ट प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, कन्चन क्वेरिज प्रालि र डोलोमाइट चुनढुंगा उद्योग प्रालिलाई प्रतिवादी बनाएको थियो ।

उनीहरूले राजस्व चुहावट गरी चुनढुंगा-सिमेन्ट कम्पनीलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको मुद्दामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *