न्याय परिषद्को संरचनामा सुधार गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय परिषद्को संरचनामा सुधार गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिसमेत सधैं विवादमा परिरहने भएकाले सो परिषद्को संरचना नै सुधार गर्नुपर्ने उनले बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशको नियुक्तिलाई सधैं विवादमा पारेर कसरी न्यायालयबाट स्वतन्त्र र सक्षम न्याय सम्पादनको आशा गर्न सकिन्छ भनी प्रश्नसमेत गरे । उनले संवैधानिक परिषद् र संसदीय सुनुवाइ समितिले पनि आफनो उद्देश्यअनुसार काम गर्न नसकेको बताए ।

पूर्वप्रधानन्यायाधीश कार्कीले छुट्टै संवैधानिक इजलास हुनुपर्ने प्रस्ताव पनि गरे । हाल भइरहेको संवैधानिक इजलासको कामै नभएको उनको जिकिर थियो । पूर्वप्रधानन्यायाधीश कार्कीले आफूले संविधान निर्माण गर्ने बेलामा पनि छुट्टै संंवैधानिक अदालतको कुरा गरेको र अहिले पनि सोही अडानमा अडिग रहेको बताए ।

पूर्वप्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि परीक्षा प्रणाली उपयुक्त हुन सक्ने विकल्प प्रस्तुत गरे । त्यसैगरी परीक्षणको माध्यमबाट पनि न्यायाधीशको छनोट गर्न सकिने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *