बेथिति बढाउने गरी सरकारले विश्वविद्यालय थप्दैन : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयहरूमा बेथिति बढाउने गरी सरकारले विश्वविद्यालयको संख्या नथप्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्।

उनले सरकार विश्वविद्यालयहरूको संख्या बढाउने भन्दा पनि विद्यालयहरूको शिक्षामा गुणस्तर वृद्धि गरी विश्वविद्यालयहरू राज्यको नियम तथा पद्धतिमा चल्नुपर्नेमा स्पष्ट रहेको बताए। उनले नेपालको जनसंख्याको १५ प्रतिशत मात्रै उच्चशिक्षाको पहुँचमा रहेको तथ्यांकहरू आएको भन्दै सरकारले सन् २०३० वा २०३५ सम्ममा २५ देखि ४० प्रतिशत जनसंख्याको पहुँचमा उच्चशिक्षा पुर्‍याउने लक्ष्य राखेको बताए।

उनले सरकारले बनाएको शिक्षा नीतिमा पनि यो विषयमा समावेश रहेको बताए। उनले विश्वविद्यालयहरूमा गुणस्तर भएन भनेर दोष लगाएर मात्रै नहुने भन्दै बेथिति हटाउनका लागि पनि सहयोगि बन्न आवश्यक रहेको बताए।

उनले विश्वविद्यालय मातहतका क्याम्पसहरूको परीक्षाको सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयका पदाधिकारीहरूलाई राखेर क्यालेण्डरबेस भएर परीक्षा लिने र परीक्षाफल प्रकाशन गर्ने प्रतिबद्धता गराएको बताए। उनले विश्वविद्यालयहरूले त्यो क्यालेण्डरलाई फलो गर्न सकेनन् भने शिक्षा मन्त्रालयले स्पष्टीकरण सोध्ने बताए।

उनले नयाँ विश्वविद्यालय सम्बन्धमा आएका विधेयकहरू विश्वविद्यालयहरूको प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने मोडालिटिबाट बाहिर रहेको बताए। उनले शिक्षासम्बन्धी विधेयकहरू तयार हुँदा परम्परागत रूपमा शासकीय ढाँचा वा शैलीलाई परिवर्तन गरिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर