१२ कक्षासम्मको शिक्षा निःशुल्क गर्दैछौं : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको बताएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७, खाडीचौरस्थित बाल शिक्षा माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि सरोकारवालासँग तीव्र रूपमा छलफल भइरहेको बताए ।

‘१२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि प्रधानमन्त्री र नेतालगायत सरोकारवालासँग कुरा गरिसकेको छु, अब छिट्टै निर्णय हुन्छ,’ मन्त्री बस्नेतले भने । उनले यही सरकारले १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था गर्ने बताए ।

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यका कारण धेरै मानिस मानसिक रोगी भएको आफूले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेको बताए । उनले भने, ‘नेपाली शिक्षालाई निःशुल्क गर्दै जाँदा आत्महत्या न्यूनीकरणमा सहयोग पुुग्नेछ ।’ उनले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्ना विद्यालयमा १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था निःशुल्क गरिसकेको बताए ।

मन्त्री बस्नेतले अब केही वर्षमा लाखौँलाख विद्यार्थीले नेपालमै सहुलियतमा मेडिकल शिक्षा पढ्न पाउने बताए । ‘यसबाट खरबौँ रूपैयाँ विदेशिनबाट जोगिन्छ, लाखौँले रोजगारी पाउनेछन्,’ उनले भने । उनले सरकारले एक प्रदेश एक मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाइने बताए ।सो अवसरमा उनले विद्यालयलाई स्कुल बस प्रदान गर्ने गाउँपालिकाको पूर्वअध्यक्ष केदार क्षेत्रीलाई सम्मान गरे ।

कार्यक्रममा बागमती प्रदेशको वन तथा वातावरणमन्त्री मसिना खड्काले शिक्षा नै भविष्य तय गर्ने बाटो भएकाले समसापेक्ष बदलिँदो प्रविधिसँगै शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङलगायतले शुभकामना व्यक्त गरे ।

मन्त्री बस्नेतले आजै बाह्रबीसे नगरपालिका-४, सिन्धुपाल्चोकको ७३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताए । उनले शिक्षाको विकास हुन नसके अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गर्दै शिक्षाको मन्दिरलाई व्यवस्थित गर्न समुुदायका सबै व्यक्ति लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर