कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् एजेन्डा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार)देखि सुरु हुँदैछ। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक बस्ने तय भएकाे छ।

कांग्रेसले बिहीबारदेखि हुने केन्द्रीय समिति बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी छ।

दाहालको नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको थियो। संघीय सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन्। मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएको थियो।

साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कांग्रेसले महासमिति बैठक पटक-पटक सार्दै आएको छ।

फागुनमा ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय भएको थियो। २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो। नीति महाधिवेशनकोसमेत काम गर्ने गरी महासमिति बैठक गर्न लागिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *