चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

चिसो बढ्दै जाँदा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरू दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ  ।

स्थानीय शान्ति मुसहरले भने, ‘जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नु परेको छ ।’ ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल । ‘घरमा ओढ्ने ओछ्याउने छैन, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन’, उनले भने, ‘यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।’ झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन् ।

स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुगे। अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताए।’पेटभरि खान नपाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खानदिने अन्न छैन’, उनले भने, ‘मजदुरी  गर्न काम पाइएको छैन , कति दिन भई सक्यो एक छाक खान्छौ ।’

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए। उनले भने, ‘केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गछौँ । ती समुदायको आर्थिक स्तर माथि उठान नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्ने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर