बिमस्टेकको भावी कार्यदिशा तथा प्राथमिकता निर्धारण नेपालका लागि महत्त्वपूर्ण अवसर : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल भूपरिवेष्ठित मुलुक भएकै कारण वैदेशिक व्यापार चुनौतीपूर्ण रहेको बताएका छन्।

बिहीबार नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित बिमस्टेकको भावी कार्यदिशा विषयक संवाद कार्यक्रममा उनले नेपाल भूपरिवेष्ठित मुलुक भएकै कारण वैदेशिक व्यापार चुनौतीपूर्ण रहेको भन्दै चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठनभित्रको अर्थपूर्ण आबद्धताले सहयोग पुग्ने बताए।

उनले भने ‘भूपरिवेष्ठित मुलुक भएका कारण वैदेशिक व्यापारसँग सम्बन्धित नेपालका विशिष्ट चुनौती छन् र अल्पविकसित मुलुक भएको कारण आर्थिक विकाससँग सम्बन्धित अनेकौं चुनौती हामीले सामना गरिरहेका छौं। यी चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठनभित्रको अर्थपूर्ण आबद्धता हाम्रा लागि सहयोगी हुने कुरामा दुईमत छैन।’

उनले बिमस्टेकलाई थप सुदृढ एवं संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्र अन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन बिमस्टेक इपीजी गठन भएको बताए।

उनले भने, ‘बिमस्टेकलाई थप सुदृढ एवं संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्रअन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रक्रियाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक ईपीजी (प्रबुद्ध व्यक्तिहरूको समूह) गठन भएको छ।’

बिमस्टेकको भावी कार्यदिशा तथा प्राथमिकताहरू निर्धारण गर्ने कार्य नेपालका लागि एक महत्वपूर्ण अवसर रहेको भन्दै आफ्नो मुलुक सदस्य रहेको संगठनलाई कस्तो बनाउने र उक्त संगठनमा कसरी अधिकतम लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर