ठूला मान्छेको नाम जोडिएपछि भ्रष्टाचारको छानबिन रोकिने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री गुरूङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् ।

भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरूङले छानबिन प्रक्रियाप्रति आफू पूर्ण रूपमा सन्तुष्ट नरहेको बताएका हुन् ।

‘भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानबिन सुरू हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ, दोषी जोसुकै भए पनि सजायको भागीदार हुनैपर्छ,’ उनले भने ।

मन्त्री गुरूङले गठबन्धनमा रहेका पार्टीको स्वीकृतिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न सक्ने बताए । मन्त्रीहरूको कामको मूल्याङ्कन, पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीको सोचअनुसार काम गर्न सक्ने मन्त्रिमण्डलमा अटाउनुहुन्छ,’ उनले भने, ‘सोअनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ ।’

मन्त्रिमण्डल पुनर्गठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरूको सहमतिबाटै हुने उनको भनाइ थियो । -रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *